
काठमाडौ, पुस १ - 'मोक्ष' माघ २४ मा रिलिज हुँदै छ, तर प्रतीक्षा अहिलेदेखि हुने छाँट देखिएको छ । निर्देशकका कारण । पहिलोपटक फिल्म निर्देशन गरिरहेका प्रवीण श्रेष्ठले पूरा फिल्म ह्वीलचेयरबाटै सके । उनले कुनै रेकर्डका लागि भने यसो गरेका होइनन् । सांगीतिक क्षेत्रमा उदीयमान करिअरमा रहेका बेला प्रवीणमाथि सांघातिक आक्रमण भयो, मेरुदण्डमा चोट लाग्यो । अन्ततः त्यही चोटले उनका पाइलाहरू ह्वीलचेयरको पांग्राको सहारामा पर्न थाले । केही गर्नुपर्छ भन्ने अठोट बोकेका उनले आखिर आफ्नै घटनालाई प्रतिनिधि बनाएर स्क्रिप्ट तयार पारे । फिल्म बनाउन साथ दिए, निर्माता सुनील मानन्धरले । 'पहिलो भेटमै प्रवीणले एउटा गीत सुनाए— खुला आकाशमुनिको पक्षी... । त्यो सुनेपछि मलाई उनकै कथा बुझ्न गाह्रो परेन,' आइतबार फिल्मको गीत/संगीत सार्वजनिक कार्यक्रममा निर्माता मानन्धरले प्रवीणसँगको पहिलो भेटबारे सुनाए, 'यो फिल्म फ्लप होस् या हिट, मलाई केही फरक पर्दैन । मैले यस्तो फिल्म बनाउन पाएकोमा गौरव महसुस गरिरहेको छु ।'संगीतबाटै जेनतेन जीवन गुजारिरहेका चार जना कलेज विद्यार्थीको ब्यान्डमा तब वज्रापात पर्छ, जब ब्यान्डकै भोकलिस्टको मेरुदण्ड एउटा घटनापश्चात् काम नलाग्ने हुन्छ । 'यो म्युजिकल स्टोरी बोकेको फिल्म त हो तर यसमा त्यति मात्रै छैन । दर्शकलाई मनोरञ्जन दिने अन्य खुराकहरू पनि छन्,' प्रवीणले भने । 'अन्य खुराक' सहित फिल्म हेर्न रिलिज डेट नै कुर्नुपर्नेछ । आइतबार भने फिल्मका केही ट्रेलर र गीतहरू देखाइएका थिए । सन् १९९७ मा दुर्घटनामा परेका प्रवीणले ह्वीलचेयरबाटै म्युजिक भिडियो निर्देशनमा भने चर्चा कमाइसकेका छन् ।कार्यक्रममा प्रवीणको उपचारमा संलग्न डा. वसन्त पन्त पनि उपस्थित थिए । 'बिरामीसँग मेरो व्यावसायिक सम्बन्ध मात्रै रहन्छ । तर कोही प्रवीण जस्ता हुन्छन्, जो मेरा प्यासेन्ट मात्रै हुँदैनन्,' फिल्मको भोकलिस्ट दुर्घटनापछिको स्क्रिप्टको टेक्निकल भागलाई सघाएका पन्तले भने । उनले 'मोक्ष' मेरुदण्ड पक्षाघातका लागि शिक्षाप्रदसमेत रहेको जिकिर गरे ।कोसिस छेत्री, बेनिशा हमाल, विक्रम सिंह, दीपेश भण्डारी, मनीष गोदार, दुर्गा बराइली, वसन्त भट्ट, सपना श्रेष्ठको अभिनय रहेको फिल्मलाई तीन क्यामेराबाट खिचिएको हो, रवीन श्रेष्ठ, प्रताप सिंह र हरि हुमागाईंले ।प्रज्ञान थापा र राजन कठेतको पटकथा रहेको फिल्ममा सञ्जीव सिंह, नवक्रान्ति ब्यान्ड, धिलुङ राई र प्रवीण स्वयंको संगीत छ ।
Post a Comment